
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको निःशुल्क ‘गार्मेन्ट मेसिन अपरेटर’ तालिम सेन्टरमा अनुगमन गरेको छ । बोर्डले मंगलबार चार वटा टोली बनाएर उपत्यकाको विभिन्न ८ वटा सेन्टरमा सम्झौता अनुसार तालिम सञ्चालनको अवस्था बारे अनुगमन गरेको हो ।
अहिले बोर्डको सहयोगमा उपत्यकाका विभिन्न ९ वटा संस्थामार्फत पाँच सय महिलालाई आवासीय निःशुल्क ‘गार्मेन्ट मेसिन अपरेटर’ तालिम सञ्चालन भइरहेको छ । यो तालिममा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका, वैदेशिक रोजगारीमा जान पासपोर्ट लिएका वा पासपोर्टका लागि आवश्यक राजस्व बुझाइसकेकाहरू महिलाहरु सहभागी हुन पाउने प्रावधान छ । तर, तालिममा भने सञ्चालककै गम्भीर लापरबाही देखिएको छ ।
वैदेशिक रोजगारीमा जोर्डनमा जान पाउने गरी प्रदान गर्न लागिएको उक्त तालिमबारे बोर्डले गरेको छड्के अनुगमनको क्रममा तालिम प्रदायक संस्थाले झारो टार्ने काम गरेको देखिन्छ ।
बोर्डले एक्सन फर डेभलपमेन्ट प्रालि, एलायन्स फर सोसल मोबिलाइजेसन, सिमेका ह्युमन रिसोर्स, एफ स्किल, जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट, ट्रेडलिंक टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र युनाइटेड टेक्निकल ट्रेनिङ इन्स्टिच्युटलाई ६०\६० जनालाई निःशुल्क तालिम उपलब्ध गराउन वित्तीय सहयोग गरेको थियो।
त्यस्तै नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र वर्ल्डलिंक टेक्निकल ट्रेनिङले ४०\४० जनालाई निःशुल्क तालिम दिन वित्तीय सहयोग पाएका थिए।बोर्डले १६७ घन्टाको यो तालिमका लागि ४० जना बराबर ११ लाख ३२ हजार रूपैयाँ (भ्याटबाहेक) उपलब्ध गराएको जनाएको छ।
निर्देशक रमा भट्टराईको नेतृत्वको टोली टोखा नगरपालिका तारकेश्वरमा रहेको २ वटा तालिम प्रदायक संस्था नवरत्न टेक्निकल ट्रेनिङ सेन्टर र वर्ल्ड लिङ्क टेक्निकल प्रालिमा अनुगमनका लागि पुगेको थियो ।
उनीहरूले ४०\४० जना गरी ८० जनालाई छुट्टा छुट्टै सिफ्टमा २१ दिने तालिम दिनुपर्ने सम्झौता थियो । तर अनुगमनको क्रममा एउटै भवनमा राखेर तालिम दिइरहेको पाइयो ।
आवासीय तालिम भएकाले तालिममा सहभागी सबैलाई अनिवार्य रूपमा होस्टेल वा होटलमा राख्नुपर्ने भन्ने थियो । तर, केही होटलमा राखिएको थियो भने केही घर वा डेराबाट आउने गरेको पाइयो ।
त्यस्तै बस्नको लागि उपलब्ध गराइएको होटलको अवस्था हेर्दा झनै दयनीय देखियो । तालिम सेन्टरभन्दा झण्डै २० मिनेट टाढा रहेको होटलमा एउटै कोठामा १० जनासम्म राखेको पाइयो । ७ वटा कोठामा ४० जनासम्म राखिएका थिए । जुन मापदण्ड विपरीत भएको निर्देशक भट्टराईले बताइन् ।
यतिसम्म कि तालिममा आउनेहरूले खानासमेत राम्रो नदिने, कपडा धुन टाढा जानुपर्ने, एउटै कोठामा ६\६ जना सुत्दा अप्ठ्यारो हुने बताएका थिए ।
नवरत्न टेक्निकल ट्रेनिङ सेन्टरमार्फत् प्रदान भइरहेको तालिममा झनै बिजोग देखियो । ४० जनाको ठाउँमा जम्मा २८ जना उपस्थित देखिए । तालिम प्रदायक संस्थाले विविध कारणले आज आउन नसकेको प्रतिक्रिया दियो । तर, हाजिरीमा भने सबै ४० जनाकै हाजिरी गरेको देखियो ।
त्यस्तै, उनीहरूको सैद्धान्तिक कक्षामा समेत न्यून उपस्थिति रहेको पाइयो । मापदण्डअनुसार दैनिक ८ घण्टाका दरले १६८ घण्टा आवासीय तालिम दिनैपर्छ । त्यसमा दैनिक २ घण्टा सैद्धान्तिक कक्षा र ६ घण्टा प्रयोगात्मक कक्षा रहेको छ । तर, उनीहरूले दैनिक ४ घण्टा पनि सिकेको देखिएन ।
तालिम सञ्चालन भएको १३ दिन भइसकेको भए पनि कतिपयले त ७ दिनमात्रै तालिम लिएको पनि भेटिएको छ ।
बोर्डले उनीहरूलाई २१ दिनको तालिमका लागि ३० हजार रुपैयाँ दिनेछ । त्यही आधारमा तालिम प्रदायक संस्थाको प्रतिव्यक्ति प्रतिदिन १ हजार ४२८ रुपैयाँ खर्च हुन्छ । तर, त्यो आधारमा खर्च नगरेको देखिएको बोर्डका अधिकारीहरूले जनाएका छन् ।
तालिममा विविध समस्या देखिएपछि बोर्डको टोलीले वर्ल्ड लिङ्क टेक्निकलका सञ्चालक ठाकुर सुवेदीलाई सम्पर्क गरेको थियो । उनीहरूले किन सम्झौताअनुसार तालिम प्रदान नगरेको, मापदण्ड विपरीत किन काम गरेको रु बस्नयोग्य नरहेको होटलमा तालिम लिनेहरूलाई किन राखेको लगायतका प्रश्न गरेका थियो ।
तर, त्यही बेला उनी निकै आक्रोशित देखिए । उनले आफूले हाल बोर्डले उपलब्ध गराएको पैसामा यत्ति मात्रै गर्न सकिने बताए ।
‘छोटो समयमा तालिमको व्यवस्थापन गर्दा धेरै सकिएन । यति थोरै बजेटमा राम्रो होटलमा तालिम दिन सकिँदैन । गार्मेन्टसम्बन्धी तालिम पहिलो पटक दिन लागेकाले व्यवस्थापन गर्न सकिएन,’ सुवेदीले भने ।
त्यही क्रममा निर्देशक अधिकारीले तोकिएको मापदण्डअनुसार गर्न नसकिने भए किन सम्झौता गरेको रु सम्झौतामा उल्लेख भएका कुरा हेरेर नै हस्ताक्षर गरेर अहिले आएर यस्तो कुरा गर्ने भनेर प्रश्न गरिन् ।
त्यही क्रममा उनी आक्रोशित भए । र भने, ‘म यो भन्दा बढी सक्दिन । तालिम क्यान्सिल गराइदिए हुन्छ । पछि जे जे पर्छ, फेस गर्छु ।’
त्यसपछि निर्देशक भट्टराईले भनिन्, ‘तपाईँलाई कारबाही गरियो भने भोलि कहीँ कतैबाट फोन नआओस् नि ।’
जवाफमा सुवेदीले भने, ‘त्यो त हेरौँला ।’ एकछिन आक्रोशित बनेका सुवेदी केही समयपछि भने नम्र भए । र, माफी माग्दै शुक्रबारभित्रमा सबै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।
‘अघि अन्य कुराको टेन्सनले अलि आक्रोशित भएँ । त्यसका म लागि माफी चाहन्छु । यी समस्याबारे मलाई थाहा थिएन । यसको सम्पूर्ण जिम्मेवारी अन्य साथीहरूलाई दिएको थिएँ ।समस्याबारे मलाई केही जानकारी थिएन । हामी शुक्रबारभित्रमा सबै कुरा सुधार गर्छौ,’ सुवेदीले भने ।
स्रोतका अनुसार सुवेदीको च्यानलमा २०० जना भन्दा बढीलाई गार्मेन्टको तालिम प्रदान भइरहेको छ । यो तालिमका कारण कारबाही गर्ने बित्तिकै अन्यमा समेत निहुँ खोज्ने सक्ने कारणले उनले धम्की दिएको स्रोतको भनाई थियो ।
त्यस्तै तालिम चलिरहँदा उनीहरू पनि दलालको फन्दामा परेको देखिन्छ । ‘अस्ति एकदिन एकजना आउनुभएको थियो । उहाँले जसले ५० हजार दिन्छ, उसले पहिलो लटमा जोर्डन जान पाउँछ भन्नु भएको थियो । के यो साँचो हो र ’ उनीहरूको प्रश्न छ ।
त्यस्तै, वर्ल्ड लिङ्क टेक्निकल सञ्चालक ठाकुर सुवेदीले धेरै व्यक्तिहरूले अग्रिम रूपमा १ लाखसम्म पैसा लिइरहेको जानकारी आफूले पाएको बताए । यसले भोलिका दिनमा अर्को विकृति भित्रिन सक्ने उनको भनाई छ ।
तालिम प्रदान गर्दै आएका कुनै पनि संस्थाको आफ्नो ल्याब र होस्टेल छैन । उनीहरूले अन्यसँग सम्झौता गरेर तालिम प्रदान गर्दै आएका छन् । पहिलो पटक सञ्चालन गरिएको तालिममा देखिएका विविध समस्यालाई अर्को पटकका लागि सिकाई भएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए ।
अधिकांश तालिम प्रदायक संस्थामा विभिन्नखाले समस्या देखिएको भन्दै अर्को पटक सुुधार गरेर मात्रै तालिम प्रदान गर्ने बताए ।
बोर्डले ५०० महिलालाई गार्मेन्ट क्षेत्रमा दक्ष बनाएर जोर्डन जान सहज बनाउन खोजेको हो । त्यसका लागि देशभरबाट काठमाडौंकेन्द्रीत भएर तालिम सञ्चालन भइरहेका छन् । उक्त तालिमका लागि १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ ।
यसरी नै तालिम समापन गरिने हो भने भोली महिलाहरुलाई जुन स्कील टेष्ट गरेर निःशुल्क जोडन पठाउने भनिएको छ, यसबाट धेरै महिलाहरु बञ्चित हुने निश्चित देखिन्छ । अहिलेको तालिम बोर्डसँग भएको सम्झौता विपरित सञ्चालन भइरहेको पाइएको छ । त्यसैले पनि तालिममा सुधार गर्नु पर्ने देखिन्छ ।










