नेकपा एसका अध्यक्ष नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंका भ्रमेणमा रहेका उनले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीलाई छुट्टा छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उनले राष्ट्रपति रणिल विक्रमसिंघेसँग राष्ट्रपति निवासमा अध्यक्ष ४५ मिनेट कुराकानी गरेका थिए । उनीसँगको भेटवार्तामा दुई देशबारे छलफल भएको बताइएको छ ।

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको भन्दै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार