
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधर रहेका छन् । उनलाई काठमाडौको सानो भर्याङबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
पक्राउ परेका तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेको आरोप छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी रिहा भएका थिए ।
उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । ३० जनामध्ये तुलाधरसहित केही व्यक्ति फरार थिए ।










