काठमाडौं । कान्तिपुर टिभी एचडीमा प्रसारण हुने कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द गरिएको । टेलिभिजनले आज एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणलाई पुर्णरुपमा बन्द गरिएको जनाएको छ ।
गत असार २३ गते प्रसारित कार्यक्रममा अभिनेता पल शाहसँग कार्यक्रम संचालक कलाकार सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादित बन्न पुगेको थियो । उक्त अन्तर्वार्तामा बलात्कार जस्तो गम्भिर बिषयलाई हाँसी मजाक बनाएको भन्दै महिला अधिकारकर्मीले विरोध गरेका थिए । अभिनेता शाह र कार्यक्रम संचालक क्षेत्रीबीचको संवादनै महिलाप्रति अपमानजनक भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई युट्युबाट पनि हटाएको थियो ।
कान्तिपुरले जारी गरेको सूचनामा ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने समेत जनाइएको छ । संचालक क्षेत्रीले सञ्चालन गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम यसअघि मधेशी समुदायलाई अपमान गरेको भन्दै विवादमा परेको थियो । सन्दीपले कार्यक्रममा मिठाई लालको क्यारेक्टर गरी मधेसी समुदायलाई अपमान र हेला गरेको भन्दै विरोध भएपछि कार्यक्रमबाट उक्त पात्र हटाइएको थियो ।