प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता भएको छ। गौर हत्याकाण्डका पीडितहरुको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन्। घटना भएको १७ बर्ष भइसक्दा पनि पीडितहरुले न्याय नपाएको भन्दै उनिहरु आन्दोलित भएका छन् ।

पीडितसंगको भेटका प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने निर्णय भएको गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर देवीले बताइन् । आफुहरुलाई न्याय दिनु पर्ने भन्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बालुवाटार बोलाएका थिए ।

यस्तो थियो गौर हत्याकाण्ड
२०६३ साल चैत्र ७ गते रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा चुनावी सभा हुँदै थियो । तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले सोहि ठाउंमा छुट्टा छुट्टै सभा आयोजना गरेका थिए । दुबैका सभाहरु करिब १०० मिटरको दुरीमा मात्रै थिए ।

आफ्नो सभा भइरहेको बेला फोरमले दिउँसो दुई बजे माओवादीको मञ्च तोडफोड गरेपछि सुरु भएको थियो क्रुरुर हिंसा । फोरमले सुरुमा आफ्नो मंच तोडफोडपछि प्रतिकारमा माओवादी कार्यकर्ताहरुले पनि फोरमको मंच तोडफोड गरेका थिए ।

माओवादीले फोरमको मञ्च तोडफोड गर्न थालेपछि मञ्चको विभिन्न कुनाबाट गोली चले र बम विस्फोट भए । त्यसपछि भएको हिंसामा माओवादीका ५ महिला र २२ पुरुष गरी २७ जनाको क्रुर ढंगले हत्या गरिएको थियो ।

सो हत्याकाण्डमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एकरएक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । घटना भएको ९ महिनापछि मृतकका परिवारले राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाएका थिए ।
घटनाका पीडितहरुले दोषी उपर सोहि समयमा किटानी जाहेरी दर्ता गराएको भए पनि अहिले पनि न्याय पाएका छैन्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार