
काठमाडौँ । सरकारले तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध धर्नामा उत्रिएकालाई प्रहरीले गरेको अन्यायका विरुद्ध चौतर्फि बिरोध भएपछि सरकारले छानबिन समिति गठन गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै समिति गठन गरेको जानकारी दिएका हुन्। गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि
सदस्य छन्।

त्यस्तै सरकारले कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य जाचबुझ गरी प्रतिवेदन पेश गर्न कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।











