
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेर थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् । रिहा हुनेमा मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनिएको थियो। सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा रहेका छन् ।










