
रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसैले भत्काउन नसक्ने बताएका छन् ।
आज दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने बताएका हुन् । उनले गठन्धन सरकार पाँचै वर्ष चल्ने समेत दावी गरे । गठबन्धन टुटाउन अनेक प्रयन्त भइरहेको भएपनि कसैले नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु( यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ’,उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धकालमा आफुलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गरेको र त्यहाँबाट आफुलाई शान्ति र उर्जा दुबै मिल्ने गरेको पनि बताए ।
कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीको पुरानो आधार इलाकाबाट आफू ऊर्जासहित फर्किने बताए । उनले माओवादी पुरानै शक्तिमा फर्किने भएकाले निरासा हटाएर सबै एकजुट भई पार्टी निर्माणमा लाग्न समेत आग्रह गरे ।










