काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा एकै दिन चीन भ्रमणमा गएका छन् ।
आज प्रधानन्यायाधीश श्रेष्ठ र प्रधानसेनापति शर्मा साता व्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । श्रेष्ठ चाइना ल सोसाइटीको निमन्त्रणामा चीन गएका हुन भने शर्मा चीनमा हुन लागेको दशौं बेइजिङ सियानसान फोरममा सहभागी हुन गएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठ सहभागी हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुने र चीनमा त्यहाँका समकक्षीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानसेनापति शर्मा भने बेइजिङमा हुने ‘कमन सेक्युरिटी, लाष्टिङ पिस’को उदेश्य दिएर हुन लागेको कार्यक्रममा सहभागि हुने र त्यहाँ विश्वशान्तिका लागि राष्ट्रहरुको भूमिका, एसिया प्यासिफिक क्षेत्रको सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसका साथै उनले चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने समेत कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम पनि रहेको सेनाले जनाएको छ ।