
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट नेपालमा शान्ति प्रकृया, जलवायु परिर्वतन, विकास लगायतका बिषयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।गएराती चारदिने नेपाल भ्रमणमा आएका महासचिव गुटेरेससंग आज औपचारिक भेटवार्ता भएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास ब्यक्त गरेका हुन् ।
महासचिव गुटेरेससँग आज प्रधानमन्त्री कार्यालयमा भएको औपचारिक भेटवार्तापछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन गुटरेसको भ्रमणले सहयोग पुग्ने समेत बताए।
‘निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो । नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्यौँ,’ प्रधानमन्त्री प्रचण्डले भने
महासचिव गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिनेमा पनि प्रधानमन्त्री प्रचण्डले विश्वास लिएका छन् ।
उनले महासचिव गुटेरेससंगको भेटवार्तामा नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि निकै सकारात्मक छलफल भएको बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न आफुले महासचिव गुटेरेससँग आग्रह गरेको प्रधानमन्त्री प्रचण्डले बताए।
महासचिव गुटेरेसले प्रधानमन्त्रीसंगको भेटवार्तापछि आजै काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, प्रतिनिधि सभाका सभामुख लगायतसंग भेटघाट गरेका छन् । उनले आजैललितपुरस्थित पाटन दरवारको अवलोकन पनि गरेका छन्।










