
काठमाडौँ । आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सक्नेछन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि दलहरुले आ आफ्ना उम्मेदवार टुंगो लगाइसकेका छन् ।
उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने गर्दछ छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि आयोगले मतदाताको अन्तिम नामावली हिजो नै प्रकाशन गरिसकेको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने आयोगले जनाएको छ ।
यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।












