राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू


काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको चुनाव तालिका अनुसार आज मध्यराती देखि आचारसंहिता लागु हुनेछ ।

निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उदेश्यले आजदेखि आचारसंहिता लागू गरेको आयोगले जनाएको छ ।

आयोगकाअनुसार आचारसंहिता लागू भएपछि कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । साथै निर्वाचनसंग सम्बन्धित कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी गर्न पनि पाइँदैन । आयोगले सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन गर्न लागिएको हो ।

निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
यो निर्वाचनमा पनि सत्ता गठबन्धनले साझेदार दलहरुबाट उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार