
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरिएको छ । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मार्दा उक्त अवैध रकमसहित तीनजना पक्राउ परेका हुन् ।
सूचनाको आधारमा अग्रवालसहित उनका दुईजना सहयोगीहरुलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।
अग्रवाल आफु कपडा व्यवसायी हुन् । पक्राउ परेका अग्रवालसहित तीनैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट म्याद लिने तयारी रहेको विभागले जनाएको छ ।
केहि दिनअघि मात्रै तपसी रामबहादुर बम्जनको हात्तिगौडस्थित घरबाट पनि करिब साढे तीन करोड नेपाली र ३३ लाख बढि विदेशी रुपैंया सीआईबीले बरामद गरेको थियो ।










