
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्ने वित्तिकै रुस फर्कादिने अवस्था नरहेको प्रष्ट पारेका छन्।
युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउनेबारे सरकारले गरिरहेको पनि भन्ने वित्तिकै रुस फर्कादिने अवस्था नरहेको प्रष्ट पारेका हुन् ।
रुसी सेनामा गएका नेपालीहरु युद्धका क्रममा मृत्यु हुन थालेपछि आफन्तहरुले घर फर्काइन दिन सरकारसंग अनुरोध गरिरहेका छन् । घर फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको भएपनि रुसी सरकारले भन्ने वित्तिकै फर्कादिने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो। युगाण्डा भ्रमणका क्रममा पनि आफू र परराष्ट्र मन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरु फर्काउन रुसका उपविदेशमन्त्रीसँग अनुरोध गरेको जानकारी समेत दिए ।
घर फर्काउने बिषयमा अझै पनि कूटनीतिक पहल जारी रहने उनले बताए ।
रुसी सेनामा भर्ना भएका नेपालीहरु फर्काउन रुस सरकारलाई कुटनीतिक नोट पनि पठाइएको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ, नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना मिडियामार्फत फैलाउनुपर्छ । यसमा सरकार गम्भीर छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
रुसी सेनामा गएका नेपालीहरुको रुस– युक्रेन युद्धमा मृत्यु हुन थालेपछि आफन्तहरु आत्तिएका छन् । नेपालबाट रुसी सेनामा भर्ना भएका दुई सयबढि नेपाली युवा रहेको अनुमान छ ।










