धरहराको पार्किङबारे बालेनको जवाफः धरहराको पार्किङ बन्द हुँदैन, निर्लज्ज प्रतिप्रश्न गर्ने केपी ओलीलाई पत्र लेख्नू

काठमाडौं । धरहराको पार्किङलाई लिएर मन्त्रालय र महानगरका मेयर बालेन शाहबीच टकराव बढिरहेको छ । केहिदिन अघि महानगरले धरहराको पार्किङ निशुल्क रुपमा खुल्ला गरेपछि मन्त्रालयले ध्यानाकर्षण गर्दै रोक्न पत्र पठाएको थियो । बालेनले त्यसको जवाफमा सामाजिकसंजालमार्फत दिदै धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् ।

मन्त्रालयले पार्किङ खुल्ला गर्ने बिषयमा महानगरले आफुले कुनै समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै ध्यानाकर्षण गराउँदै पत्र पठाएको थियो। त्यसको जवाफमा बालेनले लेखेका छन्, “पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।”

तात्कालिन प्रधानमन्त्री ओलीले २०७८ वैशाख ११ गते निमार्ण कार्य सम्पन्न नहुँदै धराहराको उद्घाटन गरेका थिए । त्यही कुरालाई स्मरण गर्दै बालेनले उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भन्दै मन्त्रालयलाई प्रश्न गरेका छन् ।

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निस्शुल्क पार्किङको व्यवस्था गरेको थियो ।

त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।
महानगरले धराहराको पार्किङमा निशुल्क सवारीसाधन राख्न दिने भनेपछि सर्वसाधारणहरुले बालेनको प्रशंसा गरिरहेका छन् ।

बालेनको स्टाटस
२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ” ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार