
काठमाडौँ । भारतमा बसोबास गरिरहेका नेपालीहरूलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ ।
प्रगतिशील नेपाली समाज समिति (भारत) को टिमले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडि, पत्रकार प्रभाकार ढगेले प्रधानमन्त्री प्रचण्ड समक्ष भारतमा रहेका नेपालीहरूको विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
भारतमा रहेका नेपालीहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निःशुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । त्यसैगरी भारतको राज्य गोवा र काठमाडौँबिच हवाई सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरूको सुझाव समेत छ ।
त्यसैगरी भारतमा बस्ने नेपालीहरूलाई पर्यटन प्रवर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने पनि उनीहरूको माग छ । नेपाली ड्राइभर लाइसेन्स भारतमा पनि मान्यता हुनु पर्ने पहल गरिदिन पनि माग पत्रमाउल्लेख छ ।
नेपाली नम्बर प्लेट भएको गाडी सजिलैसँग आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीको ग्यारेन्टी गर्न समेत ज्ञापन पत्रमार्फत भनिएको छ ।










