
काठमाडौं । लघुवित्त ऋणीहरू संसद भवन परिसरबाट पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका ऋणीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कम्तिमा १८ जना ऋणीहरू रहेका छन् । भित्र संसद् चलिरहेको बेला भित्रबाट बोलाएको भन्दै दुई तीन जना छिरेका र पछि अरु पनि छिरेका प्रहरीले जनाएको छ ।
जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।
लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।










