भरतपुर भ्रमण वर्षको आज शुभारम्भ हुँदै, सबै पूर्वप्रधानमन्त्रीले संवोधन गर्ने, रवि पनि सहभागी


चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्ने भएका छन्। आज दिउँसो १ बजे नारायणी नदी किनारमा आयोजित बिशेष समारोहमार्फत प्रधानमन्त्री प्रचण्डले भरतपुर भ्रमण बर्षको शुभारम्भ गर्नेछन् ।
कार्यक्रममा पाँच जना पूर्वप्रधानमन्त्रीको पनि उपस्थितिमा प्रचण्डले भ्रमण बर्ष शुभारम्भ कार्यक्रमको उद्घाटन गर्ने तयारी रहेको छ ।

शुभारम्भ कार्यक्रममा प्रचण्डसंगै पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहने भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् ।
कार्यक्रममा चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पनि सहभागी हुने उनले बताइन्।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेशप्रमुख तिलक परियारको पनि उपस्थित रहने मेयर दाहालले जानकारी दिइन्। उनकाअनुसार कार्यक्रममा देशका अन्य महानगर र पालिका प्रमुखहरुको पनि सहभागीता रहनेछ । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने भव्य तयारी छ ।

भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको मेयर दाहालको भनाई छ ।
आगन्तुकहरुको स्वागतका लागि भरततपुरसंगै नारायणी किनारलाई सिंगारिएर आर्कषक बनाइएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि १२ः३० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् । दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन समारोह सुरु गरिनेछ ।

उद्घाटन समारोह पछि फेरि सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । गायक बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, गायिकाहरु समीक्षा अधिकारी, एलिना चौहानलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार