बाबुरामलाई महिन्द्र राय यादव समूहले पनि छोड्यो, पार्टी फुटाएर प्रचण्डसंग एकता


काठमाडौं। अन्तत डा बाबुराम भट्टराईले गठन गरेको जनता समाजवादी पार्टी फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । पार्टी एकतामा डा. भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर अध्यक्ष यादवले माओवादीसँग एकता गरेका छन् ।

यसअघि उपेन्द्र यादव र अशोक राईको समुहले बाबुरामलाई छोडेर जसपा गठन गरेका थिए ।

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकतापछि एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय भएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताए । उनकाअनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् । पार्टी फुटको बिषयमा डा. भट्टराईले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन् । तर, पार्टीकै सदस्य मानुषी यमी भट्टराईले नेताहरुले महिन्द्र राय यादव समूहले प्रचण्डसंग आत्मसमर्पण गरेको बताएकी छन् । उनले पार्टीभित्रका नेताहरुमा पद लोलुप्ता र व्यक्तिवादी प्रवृती हावी भएर पार्टीभित्र विवाद उत्पन्न् भएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार