
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा नेपाली एकमात्र अर्वपति विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा वयान दिए लगत्तै विदेश उडेका छन् । आज बिहान बाँसबारी जग्गा प्रकरणमा सरकारी वकील कार्यालयमा बयान दिए लगत्तै अर्वपति चौधरी श्रीलंका उडेका छन् । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांसद चौधरीआज दिउँसो १ बजेर ५७ मिनेटमा श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
बाँसबारी जग्गा प्रकरणमा बयान दिएलगत्तै चौधरी विदेश उडेको भन्दै सामाजिसंजालमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनि आफ्नो नियमित कामको शिलशिलमा श्रीलंका गएको चौधरी ग्रुपले जनाएको छ। चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलका अनुसार चौधरीको तीन दिनअघि नै श्रीलंका जाने कार्यतालिका थियो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा जालसाजीपुर्ण ढंगले किनेको भन्दै यसअघि चौधरीका भाई अरुण चौधरी पक्राउ परि रिहा भएका थिए । यहि प्रकरणमा विनोद चौधरीमाथि पनि अनुसंन्धान भइरहेको छ । तर उनले कानुअनुसार नै आफुले किनेको दावी गर्दै इन्कारी बयान दिएका छन् ।
बाँसबारी जग्गा प्रकरणमा माघ १८ गते सीआईबीले अरुणसहित सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरू अदालतको आदेशपछि माघ २४ गते रिहा भएका थिए ।











