
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको पल्ला भारी भएको छ। नेकपा माओवादी केन्द्रले सघाउने निर्णय गरेपछि नेम्वाङको पल्ला भारी भएको हो । माओवादी केन्द्रले धिरेन्द्र शर्माको उम्मेदवारी रोकेर एमालेका नेम्वाङलाई सहयोग गर्ने निर्णय गरेको माओवादीले जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच गठबन्धन गर्ने सहमति भएअनुसार माओवादीले नेम्वाङलाई सर्मथन गरेको छ । माओवादी केन्द्रका सिफरीस उम्मेदवार शर्माले अब गठबन्धनका उम्मेदवार नेम्वाङलाई जिताउन लाग्ने बताएका छन्। माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल इलाम २ मा माओवादीले उम्मेदवारी नदिने निर्णय भएको र एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने बताए। इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगको छ ।
निर्वाचनका लागि अहिलेसम्म एमालेबाट नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार डगेन्द्रसिंह थेगिम चुनावी मैदानमा उत्रेका छन् । काँग्रेसले भने जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।










