नेपालमा आज कतारी राजा आउँदै, राष्ट्रपतिले स्वागत गर्दै


काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

नेपालमा पहिलो पटक राजकीय भ्रमण गर्न लागेका कतारी राजा थानी आज दिउँसो साढे ४ बजेतीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने बताइएको छ । उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल स्वयम विमानस्थल पुग्ने कार्यक्रम रहेको छ। कतारी राजा थानीको स्वागतमा सरकारले आज एकदिन सार्वजनिक बिदा समेत दिएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार राजा थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलको थानीको सम्मानमा राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको शितल निवासले जनाएको छ ।

थानीको भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता हुनका साथै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् । कतारी राजा थानी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

थानीको सम्मानमा काठमाडौंका विभिन्न ठाउँमा स्वागत द्वारहरु बनाइएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार