
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। रूपक सापकोटाले जानकारी दिए । उक्त भेटमा दुई देशबीच सम्बन्ध थप प्रगाढ र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनका बिषयमा छलफल भएको सल्लाहकार सापकोटाले बताए ।
घेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिंदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा अघि बढेको बताएका छन् ।
उनले नेपाल र चीनबीच भइरहेका पछिल्ला घेटघाटले नेपाल र चीनबीचका थप नाका सञ्चालनमा आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सीमा क्षेत्रका जनतालाई राहत पुगेको समेत बताए । नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको आफुले पाएको उनको भनाई छ ।
यस्तै सीआईडीसीएका अध्यक्ष झाउ हुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए ।










