
हेटौडा। बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा आएको छ ।
सरकारले आजबाट औपचारिक रूपमा प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गरेपछि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा आएको हो ।
गत २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख आजबाट ऐन कार्यान्वयनमा आएको हो।
भाषा ऐन कार्यान्वयनमा आएपछि अब बागमती प्रदेश सरकार मातहत र प्रदेशका ११९ स्थानीय तहको नाम त्यहाँका बोर्ड र लेटर हेडमा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल गरि ४ भाषामा लेखिने छ ।
पछिल्लो समय पहिचानको मुद्धा जोडतोडले उठिरहेका बेला तामाङ र नेवार समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएको बिषयलाई सकारात्मक रुपमा लिइएको छ ।













