
काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आज संसदमा सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति अपनाएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटरमा काँग्रेसका नेताहरु रमेश लेखक र गगन थापालाई बोलाएर संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । छलफलमा प्रचण्डले सहकारी समस्या समाधान गर्ने समेत आश्वासन दिएपछि काँग्रेसका नेताहरु संसदको अवरोध हटाउनेबारे सकारात्मक भएका हुन् ।
आज दिउँसो तीन बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । काँग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय समिति गठन गरेर अनुसन्धान हुनु पर्ने अडान राख्दै आएको छ ।












