
चितवन । गृहमन्त्री रवि लामिछानेले सहकारीको अरबौं रकम ठगी गरेको आरोप लागेका जीबी राई मलेसियामा भएको बताएका छन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि चितवनको भरतपुर पुगेका उपप्रधानमन्त्री समेत रहेका लामिछानेले पत्रकारसँगको कुराकानीमा फरार जीबी राई मलेशियामा रहेको बताएका हुन् । उनले राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको समेत बताएका छन् ।
‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो, मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ’, गृहमन्त्री लामिछानेले भने ।
मलेशियासंग सपुर्दगी सन्धि नभएका कारण पनि राईलाई नेपाल ल्याउन गाह्रो भइरहेको उनको भनाई छ ।
विभिन्न सहकारीको अरबौ रकम लिएर ग्लालेक्सी टिभी खोलेको भन्दै टिभीका अध्यक्ष राईमाथि मुद्धा परेपछि उनि फरार छन् । राई टिभीको अध्यक्ष रहँदा गृहमन्त्री लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछानेको नाम पनि मुछिएको छ ।
गृहमन्त्री लामिछानेले यसअघि पनि चितवनमा बोल्दै जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्दै विवादीत अभिव्यक्ती दिएका थिए । जसलाई लिएर संसदमा समेत लामिछानेको आलोचना भएको छ ।













