म्यानपावर व्यवसायीहरुको गुनासोमा श्रममन्त्रीको जवाफः इमान्दारिता देखाउने बेला हो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले म्यानपावर व्यवसायीहरुलाई इमान्दारिता देखाउने बेला आएको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभा र ३२औं स्थापना दिवसलाई संवोधन गर्दै मन्त्री अर्यालले म्यानपावर व्यवसायीहरुलाई आफ्नो पेशालाई मर्यादित बनाउँदै इमानदारिता देखाउने बेला आएको बताएका हुन् ।

मन्त्री अर्यालले नेपालमा म्यानपावर व्यवसाय सुरु भएको ३२ बर्ष पुगिसक्दा समेत यो पेशा मर्यादित हुन नसकेको भन्दै सबैले चाहेमा ३२ दिनमै मर्यादित पेशामा दर्ज गर्न सकिने समेत बताए।

वैदेशिक रोजगार बाध्यात्मक अवस्था भएपनि यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्नतर्फ स्वयम व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा उनले जोड दिए । व्यवसायीहरुका गुनासा र मागहरुका बिषयमा आफु जानकार रहेको र तिनीहरुलाई संवोधन गर्नतर्फ लागेको पनि उनले आश्वासन दिए ।

मन्त्री अर्यालले हरेक वर्ष दुई खर्ब एक अर्ब ६० करोड भन्दा बढी रकम गैर बैंकिङबाट म्यानपावर व्यवसायीहरूले उठाइरहेको कुरा बाहिर आएकाले यसबारे सरकारले गम्भिर भएर अध्यन गरिरहेको बताए ।

यति ठूलो रकम बैंकमा नआइ वैदेशिक रोजगारीमा श्रमिकबाट उठाइएको बिषयमा सरकार चुप लागेर नबस्ने समेत उनको भनाई थियो ।

त्यसरी गैर बैकिङबाट व्यवसायीहरुले उठाइरहेको रकमबाट अर्बौं रूपैयाँ सरकारले कर प्राप्त गर्ने उनले दाबी पनि गरे।

मन्त्री अर्यालले व्यवसायीहरुलाई भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट श्रमिकहरु उड्ने व्यवस्था मिलाउन पनि आग्रह गरे।

कार्यक्रममा म्यानवापर व्यवसायीहरुले मन्त्री अर्यालसामु भिजिट भिसा समस्या समाधान गर्न र फ्रि भिसा फ्रि टिकेटलाई ब्यवस्थित गरि एक महिनाको सेवा शुल्क लिन पाउनु पर्ने माग राखेका थिए। यसका साथै उनिहरुले कोरिया, जापान, इजरायलसंगै युरोप कामदार पठाउन पाउनुपर्ने समेत माग राखेका थिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले कुनै जानकारी बीना विभागले म्यानपावरहरुमा छापा हान्ने काम बन्द गर्नु बताएका थिए । वैदेशिक रोजगारलाई थप मर्यादित, विश्वाशिलो र जिम्मेवार बनाउन व्यवसायीहरु तयार रहेको तर सरकारले पनि आफुहरुका समस्या बुझिदिन अध्यक्ष भण्डारीले आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार