काठमाडौं । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले आफ्नो एकबर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् ।
हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरि पूर्वमान्त्रि समेत रहेका सिंहले आफ्नो एकबर्षको तलब तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक एवम् चर्चित नेत्र विशेषज्ञ डा. सन्दुक रूइतमार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई रकम हस्तान्तरण गरेका हुन्।
निर्देशक डा. रुइतको उपस्थितीमा सांसद सिंहले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका छन् । सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा आफुले ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।
सांसदमा निर्वाचित भएपछि आफुले प्राप्त गर्ने १ बर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धताअनुसार उक्त रकम आज हस्तान्तरण गरिएको सांसद सिंहले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहले आफुले निर्वाचनका बेला जनतासंग गरेको वाचा पुरा गरेको बताए। जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उनले जनतासंग गरेको एउटा वाचा पुरा गरेको समेत बताए ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले आँखा अस्पताललाई गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै उक्त सहयोगले जनतालाई सेवाप्रभाह गर्नमा अस्पतालाई सहयोग पुग्ने बताए । उनले नेताहरुमा जनताप्रतिको सेवाभाव बढ्नु पर्नेमा जोड समेत दिए ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितिका संरक्षक सिद्धीलाल श्रेष्ठ, निवर्तमान हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा लगायतको उपस्थिती रहेको थियो ।