एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी, उपाध्यक्षमा झाक्री पराजित

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले चुनावमार्फत आफ्ना १७ जना पदाधिकारी छानेको छ । मंगलबार सम्पन्न चुनावबाट समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव पदको टुंगो लगाएको हो । सम्पन्न चुनावको आज बिहान आएको अन्तिम नतिजा अनुसार महिला उपाध्यक्ष जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । राईले १८९ मत पाइन भने झाक्रीले ११२ मत पाएकी छन् ।
यस्तै उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह निर्वाचित भएका छन् । खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी निर्वाचित भएका छन् ।

सचिव खुलामा शेरबहादुर कुँवरले सबैभन्दा बढि १५३ मत पाएका छन् । त्यस्तै सोमप्रसाद पाण्डे १४१, सावित्रीकुमारी भुसाल १०६, श्रीनाथ बराल १०७ र चन्द्रबहादुर शाहीले ९१ मत पाएर विजयी भएका छन् । पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जनाको उम्मेदवारी परेको थियो । यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

३४४ जना केन्द्रीय सदस्य मध्ये ३२२ जनाले मतदानमा भाग लिएको पार्टी निर्वाचन आयोगले जनाएको छ ।

समाजवादीको दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार