
काठमाडौं। पार्टी कार्यालय बनाउन नेकपा एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङको जग्गा लिएको बिषयले यतिबेला राजनीति तरंगित भएको छ । लाखौं पार्टी कार्यकर्ता र सदस्यहरुको अपमान हुनेगरी व्यवसायीसंग पार्टी कार्यालय बनाउन जग्गा लिन नहुने भन्दै एमालेभित्रै विरोध भइरहेको छ । उनिहरुले सामाजिकसंजाल र पार्टी नेता कार्यकर्तामाझ व्यवसायीबाट जग्गा दान लिएको बिषयका असन्तुष्टी राखिरहेका हुन् ।
एकजना एमाले केन्द्रिय नेता बिन्दा पाण्डेले सामाजिक संजालमार्फत व्यवसायीको जग्गा लिन नहुने भन्दै विरोध गरेकी छन् ।
एमाले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएको उनको भनाई छ । त्यसरी सहयोग लिंदा साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको नेता पाण्डेको ठहर छ।
‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो’, पाण्डेले फेसबुक स्टाटसमा लेखेकी छन् ।
उनले यस्तो निर्णयले दिर्घकालमा पार्टीका लागि आत्मघाती सावित हुने चेतावनी समेत दिएकी छन् । पार्टी नेतृतव्ले गरेको गलत निर्णय सच्याउन उनले आग्रह पनि गरेकी छन्। व्यवसायीबाट पार्टी कार्यलय बनाउन जग्गा दानमा लिने भन्ने बिषयमा पार्टीमा कुनै पनि छलफल नभएको पाण्डेले बताएकी छन् ।
‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौ, पाण्डेले फेसबुकमा लेखेकी छन् ।
भाटभटेनीका मालिक गुरुङले काठमाडौंको कीर्तिपुरमा रहेको करोडौंका १४ रोपनी बढी जग्गा एमालेको पार्टी कार्यालय बनाउन यहि असोज २५ गते दान गरेका थिए । जसको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनै गुरुङलाई प्रमुख अतिथि बनाएर पार्टी कार्यलयको शिलान्यास गरेका थिए ।
गुरुङले जग्गा दान मात्रै होइन पार्टी कार्यालय पनि निमार्ण गर्दिने एमाले नेताहरुले बताएका छन् ।
स्मरण रहोस भाटभटेनीका मालिक गुरुङ बालुवाटारको सरकारी जग्गा प्रकरणमा प्रचण्ड सरकारको पालामा पक्राउ परेका थिए । पछि उनि झण्डै अढाई करोड धरौटी तिरेर थुना मुक्त भएका थिए । त्यसवखत एमाले अध्यक्ष ओलीले गुरुङ पक्राउको खुलेरै विरोध गरेका थिए ।
पाण्डेको फेसबुक स्टाटस










