काठमाडौं। भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि उनका बुवा सुनिल लम्सालले छोरीलाई आत्महत्या गर्न बाध्य पारेको बताएका छन् । सुनिलले घटनास्थल ओडिसा पुगेर भारतीय संचारमाध्यम एएनआईसंग कुरा गर्दै आफ्नो छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको बताएका हुन् ।
ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृतिलाई कसैले निरन्तर ह्यारेसमेन्ट गरेका कारण आत्महत्या गर्न बाध्य भएको उनका बुवा सुनिलको भनाई छ ।
‘अहिलेलाई हामीलाई यति सूचना छ कि उनीमाथि ह्यारेसमेन्ट र इमासनल ब्ल्याकमेलिङ भएको थियो, त्यही कारण उनले आत्महत्या गरेकी हुन्’, सुनिलले एएनआईसंग कुरा गर्दै भनेका छन् ।
उनले आफ्नो छोरीको मृत्युबारे प्रहरी अधिकारीहरुसँग भेट गरेको र प्रहरीले घटनाबारे अनुसंन्धान गरिरहेको समेत बताएका छन् । सुनिलले आफ्नो छोरीलाई मर्न बाध्य पार्नेलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग समेत गरेका छन् ।
उनले संचारमाध्यमलाई बताएअनुसार प्रकृतिको पोष्टमार्टमको प्रक्रिया सुरु भएको छ। घटनाबारे छानबिनका लागि प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप, डायरी लगायतका सरसमानहरु फरेन्सिकमा जाँच गरिरहेको छ । घटनाबारे भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्त सिग्देलले छानबिनका लागि स्थानिय प्रहरीमा निवेदन दिइसकेका छन् । घटनाबारे अनुसंन्धान गर्न एक जनालाई पक्राउ गरिएको समेत प्रकृतिका बुवा सुनिलले बताएका छन् ।
प्रकृतिको विश्वविधालयमै शंकास्पद मृत्युबारे नेपालमा चर्को विरोध भइरहेको छ । प्रकृतिलाई मर्न बाध्य पार्ने ब्यक्ति र विश्वविधालयमाथि पनि कार्बाहीको माग गर्दै संसददेखि सडकसम्म विरोध भइरहेको छ ।
यद्यपी, केआईआईटी विश्वविधालयले घटनाबारे माफी माग्दै आफ्ना तीनजना कर्मचारीलाई निलम्बन गरेको जानकारी दिएको छ ।