सप्तरी। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसंन्धान सुरु गरेको छ । बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको हो । उक्त घटनाबारे नेत्री यादवसंग सोधपुछका बोलाइएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
हातमा पेस्तोल लिएर नाचिरहेको उक्त भाइरल भिडिओमा नेत्री यादवसंगै अन्य ब्यक्तिहरू पनि नाचिरहेको देखिन्छ। पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओबारे अनुसन्धान अघि बढाइएको र नेत्री यादवलाई सोधपुछका लागि बोलाइएको एसपी खतिवडाले बताए ।
भाइरल भिडिओबारे के भनिन् बबीले ?
पेस्तोल पड्काउँदै नाचेको भिडिओबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको जसपा नेत्री डा. बबी सिंह यादवले बताएकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै घटनालाई अतिरञ्जित गरिएको दावी गरेकी छन् ।
‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु’, बबीले विज्ञप्तिमार्फत भनेकी छन्।
उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।