
काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।
अध्यक्ष नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषबाट भएको निर्णयले पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्धा गरेको छ । उक्त प्रकरणमा नेता नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्धा दायर गरेको छ ।
मुद्धा प्रतिवादी हुनेमा पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जना रहेका छन् ।
पतान्जलीले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुट पाएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्ने गरी अध्यक्ष नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्ले सोही स्विकृतीअनुसार जग्गा बिक्रीको बाटो खुलेको थियो ।
मन्त्रिपरिषद्कोले उक्त निर्णय गर्न तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । प्रस्ताव लैजाने तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ । यस प्रकरणमा संलग्न तात्कालिन मुख्य सचिव माधव घिमिरे भने १० वर्षअघि त्रिशूली नदीमा जिप दुर्घटना भएर बेपत्ता भएका थिए । नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको र मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको यो पहिलोपटक हो ।
मुद्धा दायर भएसंगै नेपालको सांसद पद निलम्वन
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य नेपालमाथि भ्रष्टाचारको मुद्धा दायर भएसंगै उनको सांसद पद निलम्वन भएको छ । नेपाल रौतहट १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ।















