
काडमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा अहिले चर्चाका पात्र बनेका छन् । प्रधानमन्त्रीका सबैभन्दा नजिकका मन्त्री भनेर चिनिने बास्कोटा ७० करोड कमिसन खेलमा फसेपछि उनको बारेमा अहिले जताततै चर्चा भइरहेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजीना समेत गर्नुपर्यो ।
सरकारको एउटा महत्वपुर्ण मन्त्रालय र प्रधानमन्त्रीका विश्वास पात्रबाट यति ठुलो घुसकाण्ड बाहिर आएपछि धेरै प्रश्नहरु उठिरहेका छन् ।
प्रतिपक्ष दल काँग्रेसका एक प्रभावशाली नेताले त बास्कोटाको घुसकाण्डमा उनले मात्रै राजीना दिएर नहुने भन्दै प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीना गर्नुपर्ने बताए ।
सत्तारुढ दल नेकपाभित्र बास्कोटाले राजीना मात्रै गरेर उन्मुक्ती नपाउने भएकाले छानविन गरेर कारवाही गर्नुपर्ने आवाज पनि उठेको छ ।
काभ्रेको मध्यमबर्गिय परिवारबाट पत्रकारिता हुँदै राजनीतिमा छिरेका बास्कोटा ओली सरकारको राज्यमन्त्री हुँदै एक बलियो विश्वास बन्दै सरकारको प्रवक्ता र महत्वपुर्ण मन्त्रालय सम्हाल्न पुगेका थिए ।
उनको घुसकाण्डबारे धेरै प्रश्न उठिरहेका बेला बास्कोटासंग कति सम्पती छ भन्ने कुरा पनि अहिले निकै चासोको बिषय बनेको छ ।
खबर बाहिर आएअनुसार बास्कोटा मन्त्री रहँदा उनको हातमा एक अर्बका सात वटा प्रोजेक्टहरु थिए ।
अब थाहा पाउँ बास्कोटासंग कति सम्पती छ ? हुन त कम्युनष्टि सिद्धान्त अनुसार कम्युनिष्ट नेताहरुको सम्पती भनेकै जनता हुन । उनिहरुको आफ्नो निजि त्यस्तो कुनै सम्पती हुदैन जनतासंग जे छ त्यो उनिहरुको हो ।
ओली नेतृत्वको अघिल्लो सरकारमा राज्यमन्त्री हुँदा उनले २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरेको आफ्नो सम्पत्ति विवरण अनुसार उनि खासै धनाड्य देखिदैनन् ।
बाँस्कोटाले त्यसबखत पेशको सम्पती विवरण अनुसार उनकी श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा रहेको छ ।
उक्त जग्गा उनले पुख्र्यौंली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी, श्रीमती तारादेवी कै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपूरमा ३ ओटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको छ ।
त्यस्तै, बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर ९४ आना जग्गा छ ।
बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको उनले सम्पती विवरणमा उल्लेख गरेका छन । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैंया नगद रहेको छ ।
त्यस्तै टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैंया बराबरको तीनओटा इलेक्ट्रोनिक सम्पती रहेको विवरणमा उल्लेख छ ।
बास्कोटाले सम्पती विवरणमा आफ्नो ऋण पनि उल्लेख गरेका छन् । छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैंया ऋण लिएको उल्लेख छ ।
यो राज्यमन्त्री हुँदाको उनको सम्पती अहिले दोस्रो पटक महत्वपुर्ण मन्त्रालयमा फुलमन्त्री भइ दुईबर्ष रहँदा केहि बढेको पक्कै होला ।















