
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक रहेका पत्रकार श्रेष्ठ अफ्रिकाको ताञ्जानियामामा जारी काउन्सिलको सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
पत्रकार श्रेष्ठ यसअघि विश्व प्रेस काउन्सिलको महासचिव थिए ।
काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो । यधपी चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।
नेपालको प्रतिनिधित्व गरेका पत्रकार श्रेष्ठलाई काउन्सिलको उपाध्यक्ष बनाउनु पर्ने भन्दै उनको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।

काउन्सिल अध्यक्षमा केन्याका डेभिड ओम्ओयो र अर्का उपाध्यक्षमा साइप्रसका अली हान्सेर्ली निर्वाचित भएका छन् । यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुराले महासचिवको जिम्मेवारी पाएका छन् । टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन्।
अन्तरराष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चुनिएका छन् ।
सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन भोली समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।










