
काठमाडौं । सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक साढे १९ हजार कम भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ ।
माओवादी केन्द्र निकट श्रमिकहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकहरुको जीवन धान्न नै कठिन हुने गरि सरकारले तोकेको न्यूनतम पारिश्रमिक साढे १९ हजार कम भएको भन्दै विरोध गरेको हो ।
सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साविकको १७ हजार ३०० रुपैयाँ न्यूनतम पारिश्रमिकमा २ हजार २५० रुपैयाँ थप गरी १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको थियो ।
महासंघका अध्यक्ष जगत बहादुर सिंखडाले आज एक विज्ञप्ति जारी गर्दै बिचौलियाहरुको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको बताएका छन् ।
सरकारले तोकेको पारिश्रमिकले श्रमिकको जिवन नै धान्न मुस्किल हुने भएकाले तत्काल पारिश्रमिकमा हेरफेर गर्न उनले सरकारलाई आग्रह समेत गरेका छन् ।










