काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृसंगठन नेविसंघले सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै मसाल जुलुस निकालेको छ । भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णयले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै जुलुस निकालिएको हो ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजुमा जुलुस निकालिएको हो । विशेष गरी भारतबाट आयत गरिने तरकारी र फलफूलको विषदी परिक्षण बारे सरकारले दिएको धारणका विषयमा विरोध गरिएको छ ।
तरकारी सहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताले विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नारा लगाएका थिए ।
नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गर्दा नेविसंघका १४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।







