काठमाडौं । असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ भने ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा भएको विपदमा परी हजारौं परिवार विस्थापित भएका छन् ।
विपद्का कारण ३१ जिल्ला भन्दा बढी प्रभावित भएका छन् । त्यसैगरी डुवान र बाढीका कारण १६ हजार ५२० घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारहरु विपद्का कारण आफु बस्दै आएको घर क्षतिभएपछि अन्यन्त्र बसिरहेका छन् ।
विपदमा परेका ३ हजार ३ सय ६६ जनालाई हवाई, जल तथा स्थलमार्गको माध्यमबाट उद्धार गरिएको छ । यस्तो विपद्का बेला सबैलाई आ आफ्नो ठाउँबाट उद्धारमा लाग्न सरकारले निर्देशन समेत दिएको थियो । त्यसैगरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरुलाई पनि क्रियाशिल बनाइएको छ ।
उद्धार कार्यमा जिल्लामा रहेको विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासीले उद्धारको काम गरिरहेका विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रभावित जिल्लाहरुमा सरकारले तत्काल आवश्यक पर्ने सामाग्री त्रिपाल, खानेकुराहरु पनि वितरण गरेको जनाएको छ । यसका साथै रोग नफैलियोस् भनेर स्वास्थ्यकर्मीको टोलीलाई पनि खटाइएको छ













