
काठमाडौं । लमजुङमा बाढीले बगाउदा ३ जनाको मृत्यु भएको छ भने केहि बेपत्ता भएका छन् ।
जिल्लाको दोर्दी गाउँपालिका ४ स्थित दोर्दी खोलामा अविरल बर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका अनुसार मृत्यु हुने र बेपत्ता हुनेहरु दोर्दीमा रहेको लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार रहेका छन् ।
मृतकहरुको सनाखत हुन सकेको छैन ।
घटनास्थलमा प्रहरीको उद्धार टोली पुगेर खोलाले बेपत्ता भएकाहरुको खोजि कार्य जारि रहेको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले जानकारी दिए ।
गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।
लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५ /२० जना कामदार सम्पर्कविहीन छन् । हाइड्रोपावरको उपकरणहरुमा पनि ठूलो क्षति पुगेको छ ।










