काठमाडौं । संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिनसम्म हिरासतमा राखिएको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा रवि लगायतकालाई अनुसन्धानका लागि ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएपछि उनिहरुलाई हिरासतमा राखिएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थपको अनुमती दिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नुपूर्व बनाएको भिडीयोमा उनले आफुलाई मर्न बाध्य पारेको भन्दै आफ्ना पुर्वसहकर्मी समेत रहेका रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका थिए ।
सोहि भिडियोको आधारमा अनुसंन्धानका लागि बिहीबार साँझ न्युज २४ टेलिभिजनको कार्यालयबाट लामिछाने र कँडेललाई प्रहरीले पक्राउ गरेको थियो भने कार्कीलाई कलँकीबाट नियन्त्रणमा लिइएको थियो । उनिहरु तिनै जनालाई हिजै अबेर राती चितवन पुर्याई जिल्ला प्रहरीको कार्यालयको थुनुवा कक्षमा राखिएको थियो ।
अदालत लैजाँदा सर्मथकको भिड
प्रहरीले रवि लगायतका ३ जनालाई शुक्रबार अदालतमा पेश गर्न लैजाँदा रविका सर्मथकहरुले रिहाइको माग गरेका थिए ।
सयौको संख्यामा जिल्ला प्रहरी कार्यालय अगाडी उपस्थित भएका उनिहरुले रवि निर्दोष रहेको भन्दै नारावाजी समेत गरेका थिए ।
प्रर्दशन र नारावाजीकै बीच प्रहरीले दिउँसो रवि लगायत तीनै जनालाई अदालतमा उपस्थित गराएको थियो ।
अदालतको अनुमती अनुसार अब प्रहरीले उनिहरुलाई ५ दिनसम्म हिरासतमा राखि अनुसंनधान गरेपछि पुनह अदालतमा पेश गर्नेछ ।











