शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले रवि लामिछाने लगाएत तीन जनाको नाममा किटानी जाहेरी दिइकी छन् । उनले परिवार र आफन्तको रोहोवरमा आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनी परिवारले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी दिएका छन् ।

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको मृत्युपछि भिडियो बरामद भएको थियो । भिडियोमा मृतक पुडासैनीले आफुलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै तीन जनाको नाम लिएका थिए ।

सोही आधारमा विहिबार प्रहरीले रवि लामिछाने लगाएत तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

आइतबार सोही भिडियोलाई आधार मानेर आत्महत्या गर्न बाध्य पारिएको भन्दै किटानी जाहेरी दिएको आफन्त बेलकोटगडी नगरपालिका वडा २ का वडा अध्यक्ष रमेश प्रसाद न्यौपानेले जानकारी दिएका थिए ।

काठमाडौं प्रहरी परिसरले आफुले जाहेरीलाई शिलबन्दी गरेर आजै चितवन पठाउने तयारी गरिरहेको बताएको छ ।

गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।

नयाँ व्यवस्था अनुसार पीडितले काठमाडौं बाटै किटानी जाहेरी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार