सुदूरपश्चिम पुगेर ओलीले भनेः गठबन्धनलाई पर्छान एमाले तयार, १५० सिट जित्छौं


कंचनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आागमी चुनावमा सत्ता गठबन्धनलाई पर्छान एमाले तयार रहेको बताएका छन् । एमाले कंचनपुरले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिरको चुनावमा सत्ता गठबन्धनलाई पछार्न एमाले तयार रहेको बताएका हुन् ।

उनले एमालेमा जनलहर देशैभरी बढेकाले आगामी चुनावमा १५० सिट जित्ने पनि दावी गरे ।
‘आगामी चुनावमा समानुपातिक र प्रत्यक्ष गरी १५० सिट हामी एक्लैले जित्छौं, दुनियां आश्र्चय चकित हुनेछ’, ओलीले भने ।
उनले गठबन्धनले जिते देश हार्ने र एमालेले जिते देश जित्ने समेत बताए ।

चुनावमा अरु कसैको बैशाखी टेकेर नभई जनताको भोटले एमाले जितेर सरकारमा जाने र विकासको गति अघि बढाउने उनको भनाई थियो ।
उनले काँग्रेसका नेता, कार्यकर्ताहरु पीडित भएर पार्टीमा बसेकाले आफ्नो पार्टीमा आउन आग्रह पनि गरे ।

‘काँग्रेस नेता, कार्यकर्ता कसरी मन थामेर बसेका होलान ? मनमनै रोएका छन्, आँशु लुकाएर रुन्छन, बाहिर देखाए लाज हुन्छ ।
यो पार्टी त सिद्धिने भयो भन्छन, म उहाँहरुलाई पार्टीमा आउन आग्रह गर्दछु’, ओलीले भने ।

पार्टी प्रवेश गरेका नवआगन्तुक नेता, कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले कसैलाई भेदभाव नगरी समान अवसर दिइने आश्वासन दिएका थिए । उनले चुनावमा उम्मेवार भए जित्ने र उम्मेदवारी नपाए जिताउने गरी काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, एकीकृत समाजवादीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दलाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार