
चितवन । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको छ । लामिछानेलाई ५ र कँडेललाई ३ लाखमा धरौटीमा रिहा गरेको छ । अर्की आरोपित अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरेको उनका वकिल मनिष कुमार श्रेष्ठले जानकारी दिए ।
सोमबार जिल्ला अदालत चितवनमा भएको थुनछेक बहशमा सरकारी वकिल र आरोपिततर्फका वकिलहरुले बहश गरेका थिए । जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले कसूरमा लामिछाने र काँडेललाई धरौटी र अस्मितालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित कँडेल र नर्स अस्मितालाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।
मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो ।
अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि तीनै जनाले हिरासत बाहिर रहेर यस मुद्धाका बाँकी कानूनी प्रक्रियाको सामना गर्नुपर्ने कानुन ब्यवसायिहरु बताउँछन् । लामिछानेसहित तीनैजना आरोपिहरुको यो नै अन्तिम फैसला होइन।










