काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम बुधबार सिंगापुर जादैं छन् । प्रधानमन्त्रीको आग्रहमा उनी बुधबार सिंगापुर जाने भएका हुन् ।
मंगलबार नै पार्टी महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम सिंगापुर जाने कार्यक्रम तय भएको थियो । तर गौतमले मंगलवार जाने कार्यक्रम रद्द गरेपछि पौडेल एक्लै सिंगापुर गएका थिए ।
तर सिंगापुरबाट प्रधानमन्त्रीले फोन गरेर गौतमलाई आइदिए हुन्थ्यो भन्ने इच्छा गरेपछि उनी आज सिंगापुर जान लागेका हुन् । गौतमले रातारात टिकट मिलाए र आज अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।
प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । उनको आज अन्तिम चरणको उपचार हुँदैछ ।
नेकपामा देखिएका केही घटनाक्रम पछि विभिन्न आकलन गरिरहेका बेला पार्टी महासचिव पौडेल प्रधानमन्त्री भेट्न सिंगापुर जानुलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । साथै पार्टी उपाध्यक्ष गौतम पनि बुधबार सिंगापुर जाने भएपछि सिंगापुरमा प्रधानमन्त्रीकाे उपचार मात्रै होइन केही खिचडी पाक्दैछ भन्ने संकेत गरिएको छ ।










