
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्टाउन केहि प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।
सोमबार पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले देशमा युगान्तकारी परिवर्तन गर्नका लागि नेतृत्वदायी भूमिका खेल्ने नेताहरुको बदनाम गर्ने षड्यन्त्र भइरहेको समेत बताए ।
समाप्त भइसकेको राजतन्त्र ब्युँताउने दिवा सपना केहि प्रतिक्रियावादीहरुले देखिरहेकाले तिनिहरुलाई त्यसमै रमाइरहन उनले आग्रह समेत गरे ।
“चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिदा रैछन प्रचण्डले भने, कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंहका अगाडी स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले हिजोका निरंकुशतावादी र प्रतिक्रियावादी शक्तिले फेरि देशलाई निरंकुशतातर्फ धकेल्ने प्रयास आफुलाई स्वीकार्य नहुने जिकिर गरे ।
हजारौँ शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउने ताकत कसैको नभएको उनले बताए ।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीलाई बलियो बनाउँदै सरकारलाई परिणाममुखी बनाएर जनताको सेवा गर्न बाहेक अब अर्को विकल्प नभएको स्पष्ट पारे ।
पार्टी एकता प्रक्रिया अन्तिमरुपमा पुगेको र अब देशभर कार्यक्रम लिएर जनताको माझमा जाने तयारी भइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले सुरेश वाग्लेलाई निस्कलंक, पारदर्शी चरित्र र नैतिक बल ठूलो भएको नेताको रुपमा स्मरण गरे । आफ्नो राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको बताउँदै जनयुद्धको तयारी र शुरु भइसकेपछि वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको जानकारी दिए ।
हाम्रा भिडियो सामग्री पनि हेर्नुहोस









