
काठमाडौं । सांसद पम्फा भुसालले नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको कुराकानीको विषयमा अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको हो ? भन्दै प्रश्न गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सासद भुसालले अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भएको भेटवार्तालाई लिएर सोधिएको स्पष्टीकरणबारे सरकारको जवाफ मागेकी हुन ।
“अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ, सांसद भुसालले भनिन ।”
सांसद भुसालले आउँदो नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले र अमेरिकी सेनासँग दुईवटा प्रशिक्षण गर्ने भनी अमेरिकाले पत्र पठाएको भन्दै उक्त कार्यक्रम रद्ध गर्न समेत सरकारसंग माग गरेकी छन् ।
उनका अनुसार आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको छ ।
नेपालले विगतदेखिनै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले भनाई छ ।










