
काठमाडौं । दशैंमा घर जानेहरुका लागि आजबाट दशैंको अग्रिम टिकट खुलेको छ । दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि सहज बनाउन बसको टिकट बुकिङ खुला गरिइको हो ।
लामो छलफलपछि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ खुलाएका हुन् ।
आज काठमाडौं बाट लामो दूरीमा चल्ने बसको अग्र्रिम टिकट बुकिङ सुरु भएको हो । अरु नजिकका जिल्लाका लागि भने केही दिनपछि मात्रै बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
आज कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु भएको छ । विहानै देखि यात्रुहरु आफ्नो टिकट सुरक्षित राख्नका लागि यी स्थानमा लाइनमा बसेका छन् ।
दशैंमा काठमाडौं बाट करिब ३० देखि ३५ लाख बाहिरिने अनुमान छ । घर फर्किनेहरुले सार्वजनिक यातायातमा नै यात्रा गर्ने गर्दछन् । यसरी अहिले नै टिकट लिइराख्यो भने यात्रुलाई यात्रा गर्न सहज हुन्छ । त्यसैले प्रत्येक वर्ष दशैंको केही समय अघि नै अग्रिम टिकट खुल्ने प्रचलन छ ।
त्यसैगरी उपत्यकामा यात्रुहरुका लागि सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने बताइएको छ ।










