ट्राफिक नियम सिकाउन एयरहोस्टेससहित चर्चित कलाकार सडकमा 

काठमाडौं । ट्राफिक नियम सिकाउन एयरहोस्टेस सडकमा आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा एयरहोस्टेज पनि सडकमा आएका हुन । महाशाखाले ट्राफिक ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आइतबारदेखि राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा सो कार्यक्रम संचालन गरेको छ ।

जसका लागि २३ वटा विद्यालय, दुई वटा युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेससहित ५०० स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ।

अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलंकी, महाराजगञ्ज, बिएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले सडक सुरक्षा वर्तमान चुनौती बन्दै गएको कारण नीति र निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्दे ट्राफिक समस्या हल गर्ने कुरामा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउनु जरूरी रहेको बताए।

पन्ध्र दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार