
काठमाडौँ । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
जनकपुर विमानस्थलमा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रण लिएको थियो । सांसद शाहलाई प्रहरीले बुधबार जिल्ला अदालत धनुषामा पेस गरेर म्याद थप गरेको हो ।
प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको अदालतका श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।
मंगलबार विहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
सांसद शाहले सोमबार जनकपुरबाट काठमाडौँ उडान भर्ने क्रममा विहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गरेको भन्दै आक्रोषित भइ काउण्टरमा तोडफोड गरेका थिए ।
शाह सर्लाही निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन ।










