डा.परियार र बर्माद्धारा पत्रकारिता पुरस्कारको घोषणा


काठमाडौ । डा. बिष्णुमाया परियारले पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेकी छन । राष्ट्रिय दलित पत्रकार संघ नेपालद्धारा शनिवार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) का दलित समुदायका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा डा. परियारले सो पुरस्कार घोषणा गरेकी हुन ।

डा. परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा २० हजार रुपियाँ राशीको पुरस्कार दलित समुदायका पत्रकारको हौसलाका लागि घोषणा गरेको बताइन ।

कार्यक्रममा बोल्दै डा. परियारले आफु अमेरिकामा रहेपनि नेपालको दलित आन्दोलन र दलित समुदायको उत्थानका लागि क्रियाशील रहेको बताइन ।

अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार समेत रहेकी डा. परियारले नेपालको गोर्खा लगायत ६ जिल्लाका झण्डै २० हजार दलित तथा गरिब बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकी छन् ।

डा. परियार नेपाल दलित महिला उत्थान संघ (एड्वान) की संस्थापक अध्यक्ष, यु.एनको सी.एस.डब्लु प्लानिङ्ग कमिटिका साथै एन.जि.ओ मेजर ग्रुपमा क्रियाशील छिन ।

कार्यक्रममै उपस्थित जातिभेद विरुद्ध बिश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि १० हजार रुपियाँ राशीको पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।

व्यक्तिगत रुपमा सो पुरस्कारको घोषणा गरेका बर्माले आफुहरु अमेरिका रहेपनि दलित आन्दोलन र राष्ट्रिय दलित पत्रकार संघ नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । डा. परियार र बर्माले घोषणा गरेको पत्रकारिता पुरस्कार राष्ट्रिय दलित पत्रकार संघ नेपालसंगको सहकार्यमा बार्षिक रुपमा वितरण गरिने संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

अध्यक्ष पहाडीका अनुसार  डा. परियार र बर्माले घोषणा गरेको पुरस्कारसँगै नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपालद्धारा वितरण गरिने पत्रकारिता पुरस्कारको संख्या बार्षिक ६ पुगेको छ ।

यस अघि संघले टिआर बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार र परशु—सगुरी पत्रकारिता पुरस्कारको स्थापना गरिसकेको छ । जुन पुरस्कारहरु बार्षिक रुपमा वितरण गरिने छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पहाडीले स्थापनाको छोटो समयमै संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित भएको बताए । देशभरका झण्डै १५ सय दलित समुदायमा पत्रकारहरुलाई संगठित गरी दलित आन्दोलनलाई थप उचाईमा पुर्याउने अभियानमा संघ लागेको उनको भनाइ थियो ।

कार्यक्रममा एनआरएनएका दलित समुदायका प्रतिनिधिहरु, संघका पदाधिकारी लगायत संचारकर्मीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार